बागलुङ ।२४ माघ २०८१ । बागलुङको काठेखोला गाउँपालिका–५ की १७ बर्षीया सोनिया परियारको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले अनुसन्धानलाई प्रभावकारी बनाउन गरेका छन्
बिहिबार पत्रकार भेटघाट गर्दै उनकी दिदी सममाया परियारले मृत्यु रहस्यमयी रहेको बताउँदै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नु पर्ने बताएकी छिन् ।
‘बहिनी सोनियाको मृत्यु हत्या हो वा आत्महत्या हो भन्ने रहस्यमीय छ, उनको शरीरमा निला डाम थिए, कपडापनि च्यातिएको थियो ।’ उनले भनिन्–‘यो आत्महत्या नभई हत्या गरिएको हुन सक्छ हत्या नगरिएको भएपनि आत्महत्या गर्न बाध्य पारिएको छ ।’
उनले सोनियामाथी श्रीमान सहित शासुले पहिलेदेखिनै यातना दिने गरेको बताइन् ।
१३ बर्षको उमेरमा सन्तोष भन्ने अगन्धर दर्जीसँग विवाह गरेकी सोनियाको मिति २०८१÷१०÷२१ गते मृत्यु भएको थियो ।
उनले सोनियाको घरमा सासुले आगो समेत लगाइदिएको बताइन् । २०७९ सालमा सासु खिम कुमारीले घरमा आगो लगाइदिने गरेको, श्रीमान र सासु मिलेर कुटपिट गर्ने गरेको बताइन् । दिदीसँगको म्यासेजमापनि उनले श्रीमानले पटक–पटक कुटपिट गरेको बताउँदै अलग्गै बस्ने उल्लेख गरेकी छिन् ।
सोनिया मृत्युको विषयलाई लिएर माइती पक्षले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी लिएर गएपनि प्रहरीले दर्ता गर्न नमानेको माइती पक्षको आरोप छ ।
‘हामीले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ताकोलागि प्रहरीकोमा जाहेरी लिएर गयौँ तर प्रहरीले दर्ता गर्न मानेन, प्रहरीले अत्यन्त हल्का तरिकाबा लिएको छ ।’ उनले भनिन्–‘यसको प्रभावकारी अनुसन्धान होस र आत्महत्या दुरुत्साहन गर्नेलाई कार्बाही होस भन्ने चाहेका छौँ ।’
मृतक सोनियाकी भाउजु बागलुङ नगरपालिका–२की २१ बर्षीया मनिषा परियारले आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी लेखेर प्रहरीकोमा गएकी थिइन् ।
जाहेरीमा सोनियाका श्रीमान २४ बर्षीय सन्तोष भन्ने अगन्धर दर्जी, ससुरा लिले दमाई र सासु पत्नी ४२ बर्षीय खिम कुमारी दमाईलाई विपक्षी बनाइएको छ । माइतीपक्षद्वारा दिइएको जाहेरी प्रहरी दर्ता गर्न नमानेपछि पीडित परिवारले पत्रकार सम्मेलन गरेका थिए ।
यस विषयमा प्रहरी उपरीक्षक ऋषिराम कँडेलेले आत्महत्या दुरुत्साहनको एभिडेन्स (प्रमाण) भेटिएमा मुद्धा दर्ता गरिने बताए ।
‘अहिले आत्महत्याको मुद्धा दर्ता भएको छ, यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ उनले भने–‘आत्महत्या दुरुत्साहनको प्रमाण भेटिएमा दुरुत्साहनको मुद्धा आकर्षित हुन्छ ।’
उनले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको र थप अनुसन्धान हुँदै गरेको र अनुसन्धानबाट आत्म हत्या, हत्या वा आत्महत्या दुरुत्साहन भन्ने पत्ता लाग्ने बताए ।