शेखर थापा । ८ फागुन २०८१ ।
बरेङ गाँउपालिका २ बरेङ बजारमा अवस्थित सर्बोदय माध्यमिक बिद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसर पारि बुधवार मूल समारोह सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नं। १ का सङ्घीय सासंद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राणा शासन हटेर प्रजातन्त्र आएको आज ७५ बर्स काटेपनि शासकहरूको शासन शैलीमा अझै फेरबदल नआएको बताउनु भयो । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रहरूमा राज्यले जिम्मा नलिई व्यापारिहरुको कब्जामा गएकाले जनताले सास्ती परिरहेको केसीको भनाई छ । फरक प्रसङ्गमा केसीले सङ्घीयताको बाहना तथा आवरणमा शक्ति राष्ट्रहरूले नेपालमा चलखेल गरिरहेको र देशलाई कमजोर बनाइरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नं। १ ख का प्रदेश सासंद डिल्लिराम सुबेदीले शैक्षिक गुणस्तरका लागि शिक्षक‚ अभिभावक तथा विद्यार्थी बिचको तिन खम्बा ब्यालेन्स हुनुपर्ने बताउँदै अब आउने समय थप चुनौति पूर्ण हुने हुँदा थप सर्तक हुन तथा अवसर छोप्न विद्यार्थी हरूलाई सुझाब दिनुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले युवाहरूलाई विदेश पलायन बाट रोक्न शैक्षिक संस्थाहरू बाटै विषेश पहल गरिनुपर्ने बताउनु भयो । शैक्षिक गुणस्तर वृद्धि गर्न पहिलो भूमिका अभिभावकको रहने त्यसपछि मात्र बिद्यालय व्यवस्थापन समिति र शिक्षकको रहने हुँदा सम्बन्धितहरूले विषेश ध्यान दिनुपर्ने जिसस प्रमुख थापाको भनाई छ ।

समग्र संघ संस्था तथा शैक्षिक संस्थाहरूको तर्फबाट सर्वोदय क्याम्पस प्रमुख फूलकुमारी शर्माले मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चित्र थापाले ७४ लाख ३२ हजार ७४४ रुपैया नगद मौज्दात सहितको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता‚ शिक्षक टोमनाथ शर्माको स्वागत तथा शिक्षक ओमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
३ दिन सम्म सञ्चालन भएको कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक तथा खेलकुद तथा बौद्धिक कार्यक्रमहरू आयोजना गरेको थियो ।