बरेङ गाउँपालिका ३ बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयले ६९ औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । सोमवार विद्यालयले आन्तरिक प्रतियोगिताको साथमा बौद्धिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू सहित वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले बरेङ गाउँपालिकाले शिक्षा तर्फ भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गरेको बताउँदै अव गुणस्तर सुधारमा ध्यान दिने बताउनु भयो । 
शैक्षिक गुणस्तर प्राप्त गर्न कतिपय विद्यालय गाभिने प्रक्रियामा रहेको जानकारी दिदैँ उहाँले पालिकाले आवासीय सुविधा सहितको विद्यालय सञ्चालन को योजनामा पालिका रहेको खुलासा गर्नुभयो । बढ्दो बसाइसराइ लाई ध्यानमा राख्दै विद्यार्थी कम भएका विद्यालयहरू गाभेर उच्च गुणस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने वा स्कुल बसको ब्यवस्था गरेर विद्यार्थी लाई पढ्ने वातावरण मिलाउने योजनामा कार्यपालिकामा बहस भैरहेको बताउनु भयो । विशिष्ट अतिथि बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग विकले विद्यालयको कार्यप्रगतिको खुलेर प्रशंसा गर्दै विद्यार्थी सङ्ख्या घट्नु विद्यालयको नभई राष्ट्रिय चिन्ताको विषय भएको बताउनु भयो । बरु विद्यालयमा पढिरहेका विद्यार्थी अन्य विद्यालयमा जानु चिन्ताको विषय भएकोले यदि त्यस्तो भएमा कमीकमजोरी पत्ता लगाएर सुधार्नु पर्ने धारणा राख्नुभयो ।
ज्ञानोदय आधारभुत विद्यालयलाई पालिकाकै नमुना विद्यालय बनाउन अभिभावक विद्यार्थी र शिक्षक लगनशील हुँदै अथक मेहनत गर्न अनुरोध गर्नुभयो । विद्यालयको उन्नयनका लागी पालिकाले सक्नेजति सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
वडा न ३ का वडा अध्यक्ष सेर बहादुर खनालले विद्यालयलाई वडाको तर्फ देखी योजना तथा आफ्नो परिवारको तर्फ देखी ज्ञानोदय आ.वि.‚जनता प्रा.वि ‚वालविकास आ.वि‚साग्दी प्रा.वि ‚सारदा मा.वि मा समेत अक्षयकोषको स्थापना गरेर शैक्षिक क्षेत्रमा योगदान गरेको बताउनुभयो ।
बरेङमा सबैभन्दा राम्रो विद्यालय छनौट गरेर दिवङ्गत आमाको नाममा अक्षयकोष स्थापना गर्ने सोचमा रहेको जानकारी गराउनुभयो । विद्यालयमा एक जना शिक्षक नियुक्तिमा आफूमाथि समितिबाट अभद्र व्यवहार भएकोमा दुख व्यक्त गर्नुभयो । शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बरेङ गाउँपालिकाको शैक्षिक क्षेत्रको नेतृत्व गर्न पाएकोमा गर्भ महसुस गरेको भन्दै विद्यार्थीको प्रतिभा पहिचान गर्दै त्यही अनुसारको व्यक्तित्व विकासमा जोडदिनुपर्ने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीले विद्यालयको भावी योजना सहितको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा बरेङ गाउँपालिका कार्यपालिका सदस्य तुलसी बि.क वडा न ३ का वडा सदस्य दिलमाया क्षेत्री विक ‚वडा सदस्य तथा शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादु थापा‚वडा सदस्य सोभा थापा‚वडा सदस्य चन्द्र बहादुर सार्की‚लगाएतका बिभिन्न सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहको थियो । कार्यक्रमको अवसरमा बिभिन्न प्रतियोगितामा बिजेता विद्यार्थी हरुलाई पुरकृत गरिएको थियो । त्यस्तै शैक्षिक उन्नययनमा योगदान पुर्याउने सहयोगदाता हरुलाई सम्मान गरिएको थियो । 
सोहि अवसरमा शिक्षक शिक्षिकाहरुले नृत्य प्रदर्शन गरेका थिए । भने बाटाकाचौर भजन मण्डली‚नवजागरण एकता समाज धनमुढा आमा समुह‚लिग्दी आमा समुहले भजन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता‚ बिद्यालयका साहायक प्रधानाध्यापक होमनाथ न्यौपानेको स्वागत र शिक्षक चन्द्रमणी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । 
