बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ६४ जना महिला र ११४ जना पुरुष गरी १७८ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । घिमिरेले गत वर्ष ३१० जनामा देखिएको जानकारी दिनुभयो ।
बागलुङका १० पालिकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् । ढोरपाटन नगरपालिकामा ४३, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा २८, बागलुङ नगरपालिकामा २७, निसीखोला गाउँपालिकामा १४, जैमिनी नगरपालिकामा सात र ताराखोला गाउँपालिकामा चार जना फेला परेका छन् । त्यसै गरी तमानखोला गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा सात जना क्षयरोगका बिरामी रहेका उहाँले बताउनुभयो । बागलुङमा गत आवमा क्षयरोगका कारण १० जनाको मृत्यु भएको निरीक्षक घिमिरेले बताउनुभयो ।
निरीक्षक घिमिरेले बागलुङमा परीक्षणको क्रम बढाएर सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले यस वर्ष गण्डकी प्रदेश सरकारले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गर्दा सङ्क्रमण पत्ता लाग्न सहयोग पुगेको बताउनुभयो । प्रदेश सरकारले एआई एक्सरे मेसिनद्वारा बागलुङको ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकामा क्षयरोग परीक्षण गरेको थियो ।
बागलुङमा निको हुने दर ९०.४ प्रतिशत रहेको छ । समयमै रोग पत्ता लागेर नियमित औषधी उपचार गरेमा क्षयरोग निको हुन्छ । क्षयरोगको लक्षण देखा परेमा तुरुन्त परीक्षण गरी औषधी सुरु गर्नु पर्छ । उहाँले बागलुङका चार पालिकालाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ अभियान सुरु गरिएको बताउनुभयो । एक क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले यसलाई कोरोनाभन्दा पनि जोखिम मानिन्छ ।
धूमपान र मद्यपान गर्नेलाई सङ्क्रमण बढी हुने देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँले कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरूसमेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताउनुभयो । बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको निमित्त प्रमुख सापकोटाले बताउनुभयो ।